गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । टी-२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीव्र गतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए । जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । 

त्यस्तै आजै भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतिहास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ओमानलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए । 

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो । उक्त प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस