राहदानी र परिचय पत्रको अनलाइन फारम ईलाका प्रशासन कोहलपुरकै कर्मचारीले निःशुल्क भरिदिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राहदानी र परिचय पत्रको अनलाइन फारम ईलाका प्रशासन कोहलपुरकै कर्मचारीले निःशुल्क भरिदिने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेकै लयमा लय मिलाउँदै ईलाका प्रशासन कार्यालय कोहलपुरबाट प्रवाह हुने सेवालाई पनि सहज बनाउँदै लगिएको छ । जसअनुसार आइतबारदेखि अन लाइन फारम  निःशुल्क भर्ने र प्रमाण पुगेको हकमा एकै दिनमा सेवा प्रवाह गर्ने सुनिश्चितता गरिएको छ ।

राहदानी र राष्ट्रिय परिचयपत्र सेवाका लागि भर्नुपर्ने अनलाइन फारम कार्यालय परिसर भित्रै कर्मचारीहरूले नै निःशुल्क भरिदिने व्यवस्था मिलाइएको छ । कार्यालयका कर्मचारीले नै फारम भरिदिँदा सेवाग्राहीको बाहिर पैसा तिरेर फारम भर्नुपर्ने बाध्यता हटेको ईलाका प्रशासन कार्यालय कोहलपुरका शाखा अधिकृत मनोज कुमार थारुले जानकारी दिए ।

प्रमाण पुगेकाको हकमा एकै दिनमा सेवा प्रवाह ग्यारेन्टीका साथ हुने सुनिश्चितता गरिएको कार्यालयले जनाएको छ । थारुका अनुसार अग्रिम समय बुक गर्नु नपर्ने, अन लाइन फारम भर्ने र फोटो खिच्ने काम एकै दिनमा हुनेछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार कार्यालयलाई थप अधिकार प्रत्यायोजन गरिएको छ । टिप्पणी सदर गराउन सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारीलाई भेट्नुपर्ने बाध्यता अन्त्य गर्न प्रचलित कानुनले मिल्ने सबै अधिकार ईलाकाका प्रशासन अधिकृतलाई प्रत्यायोजन गरिएको उनले जानकारी दिए । राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायतका काम गर्दै आएको ईलाका प्रशासन कार्यालयमा अधिकार प्रत्यायोजनसँगै वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धी काम पनि हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस