घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी


१९ कार्तिक २०८०, आइतबार


राँझा । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगन्जवासी जुटेका छन् ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्जवासीले स्वतःस्फूर्तता आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुम पश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए ।

उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्वः स्फूर्त रगत सङ्कलन भएको हो ।

नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि आकस्मिक अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको हो ।

भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम ठूलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको मल्लले बताए ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि अस्पताल परिसरमा सञ्चालित अञ्जनी माता रसोइमा आइतबारदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

भूकम्पका घाइते बिरामी तथा पीडित परिवारलाई सहजरूपमा भोजनको व्यवस्था मिलाइएको अञ्जनी माता रसोइका सञ्चालक सदस्य विजय गुप्ताले बताए ।

नेपालगन्जका अगुवा व्यापारी नन्दलाल वैश्यले शनिबार नै अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवालाई कम्मल र उनीको पछ्यौरा प्रदान गरेका छन्।

भेरी अस्पतालमा गए राति थप छ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको छ । दुईजना भेरी नगरपालिका जाजरकोटका र चारजना सानीभेरी रुकुम पश्चिमका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म बाँकेमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३८ पुगेको छ । उपचाररत घाइतेमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने एकजनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत घाइतेमध्ये पाँच जनाको गए राति सफल शल्यक्रिया भइसकेको छ । एक जनाको शनिबार बाटोमै मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस