प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच छलफल


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

यसअघि पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन् । तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री ‘प्रचण्ड’कै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन नसकेको आरोप लगाउँदै आएका छन् ।

नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसङ्घका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्ग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए । मङ्गलवार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन उनले दलहरूलाई सुझाव दिएका थिए ।

शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयलाई राजनीतिक दलहरूले सत्ता स्वार्थको लागि आफूअनुकुल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ । कानून न्याय तथा मानव अधिकार समिति बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा सहमति जुटाउन यसअघि नै असफल भइसकेको छ ।

कानून समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यो विधेयकलाई निष्कर्षमा पुर्‍याउन भनेको थियो । तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ । उपसमितिले पनि सहमति जुटाउन नसकेपछि अहिले सहमति खोज्नको लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग गृहकार्य गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस