पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा


१५ कार्तिक २०८०, बुधबार


घोडेपानी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदल मार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे ।

“कास्कीको नयाँ पुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरू धुलो खाँदै असहज रूपमा हिँडिरहेको देख्दा दुस्ख लाग्यो,” थापाले भने, “नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुन् ।

पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।” पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए।

शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो ।

काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदल यात्रामार्फत घोडेपानी आएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीय स्थल घुम्नुपर्नेमा जोड दिए ।

“स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ”, महामन्त्री थापाले भने, “नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीय स्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरूको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रूपमा पहल गर्नुपर्ने छ ।”

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ ।

लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुन हिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो ।

घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोज र कात्तिक पर्यटकको यामका रूपमा मानिन्छ ।

गत वर्षको तुलनामा पर्यटक आगमन बढे पनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका घोडेपानीका होटेल व्यवसायी डमबहादुर पुन थापाले बताए । उनले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिए ।

“घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्”, होटेल व्यवसायी थापाले भने । उनका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटेल छन् ।

कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटेल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताइन् । महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीय स्थल घान्द्रुक गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस