डेंगीले महिलामा महिनावारी अनियमित हुन्छ ? « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डेंगीले महिलामा महिनावारी अनियमित हुन्छ ?


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । यो वर्षको मनसुन सुरु भए लगतै धरानसहित पूर्वी नेपालका विभिन्न स्थानमा डेंगीको संक्रमण फैलियो । विगतका केही वर्षलाई आधार मान्ने हो भने यो वर्ष पनि मनसुन सकिएपछि डेंगी फैलिन्छ भन्ने अनुमान चिकित्सकहरूको थियो । अनुमान गरे अनुसार नै दसैँकै सेरोफेरोमा डेंगीको संक्रमण बढ्यो । तर, गत वर्ष जस्तो डेंगी संक्रमणका कारण मानिसको मृत्यु भएको भने छैन । 

विगतमा जस्तो यो वर्ष उपचारका लागि सबै डेंगी सङ्क्रमितहरू अस्पतालसम्म आएका छैनन् । तर, केही दिनयता ज्वरो आएर अस्पताल पुग्ने गरेका अधिकांश व्यक्तिमा डेंगीको संक्रमण देखिइरहेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दसैँको वेला पनि बिरामीको भीड कम भएन । ज्वरोको लक्षण लिएर दैनिक बिरामी आइरहे । 

टेकु अस्पतालमा जस्तै ज्वरोको लक्षण लिएर अन्य अस्पतालमा पुग्ने व्यक्तिमा पनि डेंगी देखिएको छ । ज्वरोको लक्षण लिएर काठमाडौँ उपत्यकाका वीर, सिभिल, पाटन र त्रिवि शिक्षण अस्पतालमा पुग्ने बिरामीमा समेत डेंगी देखिएको चिकित्सकहरू बताउँछन् । 

पछिल्लो समय डेंगी संक्रमण भएका महिलाहरूले महिनावारी अनियमित भएको र महिनावारीको समयमा रक्तस्राव बढी भएको बताउने गरेका छन् । के डेंगी सङ्क्रमणले महिनावारी अनियमित र रक्तस्राव बढी हुन्छ ? यो विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक एवम् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गरेका छौँ । डा. पुनसँग गरिएको कुराकानीको सम्पादित अंश ।

अहिले डेंगी संक्रमण भएर अस्पताल आउनेको तथ्याङ्क कस्तो छ ?

हामीले अनुमान गरे अनुसार नै दसैँको सेरोफेरोमा डेंगीको संक्रमण बढेको छ । ज्वरो आएर अस्पताल आएका अधिकांश व्यक्तिमा डेंगी संक्रमण देखिइरहेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक दुई दर्जन (२४ जना)को हाराहारीमा बिरामीहरू यस्तो समस्या लिएर बिरामी आउने गरेका छन् । ज्वरो आयो र शरीर दुख्यो भनेर अस्पताल आएका सबैजसो बिरामीमा डेंगी संक्रमण पुष्टि भएको अवस्था छ ।

डेंगी संक्रमित केही महिलाहरूले महिनावारी अनियमित भएको बताउने गरेका छन् । डेंगीका कारण महिनावारी अनियमित हुन्छ ?

महिनावारी अनियमित हुने समस्या महिला रोग विशेषज्ञसँग सम्बन्धित विषय हो । तर, डेंगी संक्रमण भएको बेला महिनावारी अनियमित हुने विषय छ, यो कहिन कहीँ हर्मोनको असन्तुलनसँग जोडिएको छ । 

डेंगी संक्रमणका कारण हर्मोनको असन्तुलन हुन्छ, हुँदैन र यसले महिनावारी अनियमित गराउँछ, गराउँदैन भन्ने बारेमा अध्ययन अनुसन्धान भएको पाइँदैन । यस कारण डेंगीले नै महिनावारी अनियमित भयो भन्ने स्पष्ट आधार र तथ्यहरू छैनन् । तर, मसँग पनि उपचार गराउन आउने डेंगी संक्रमित केही महिला बिरामीहरूले महिनावारी अनियमित भएको बताउने गर्नु भएको छ । केहीले समयभन्दा अगावै महिनावारी भएको र केहीले रक्तस्राव बढी भएको बताउनु भएको छ ।

उहाँहरूको भनाइलाई आधार मान्ने हो भने डेंगीले महिनावारी अनियमित गराउने गरेको छ । तर, अहिलेसम्म डेंगीकै कारण महिनावारी अनियमित हुन्छ भनेर पुष्टि गर्ने आधारहरू फेला परेको अवस्था छैन । तर, डेंगीले रक्तस्राव गराउन सक्छ ।

जहाँसम्म महिनावारी अनियमित अथवा रक्तस्राव बढी भएको भन्ने कुरा छ । पछिल्लो समयमा केही महिलामा यो समस्या देखिएको छ । यो छुट्टै अनुसन्धानको पाटो हो भन्ने मलाई लाग्छ । 

यो प्रकारको समस्या अहिले मात्र देखिएको होइन । गत वर्ष काठमाडौँमा डेंगी फैलिएको बेला पनि संक्रमित महिलाहरूले यस्तै समस्या बारे बताउने गर्नु भएको थियो । 

सन् २०१९ मा काठमाडौँमा डेंगी संक्रमण हुँदा महिलाहरूले महिनावारी अनियमित भएको कुरा गर्नु भएको थिएन । तर, सन् २०२२ र अहिले २०२३ मा महिनावारी अनियमित भएको बताउने गर्नु भएको छ । 

यो डेंगीको नयाँ लक्षण थपिएको हो भन्ने बारेमा अनुसन्धान भएको छैन । डेंगी संक्रमण हुँदा देखिन लक्षणहरूमा अस्वभाविक महिनावारी यो समस्यालाई अहिलेसम्म कहीँ कतै राखेको पाइँदैन ।

डेंगी संक्रमण भएको बेला महिनावारी हुँदा जोखिम कति हुन्छ ?

डेंगी रोगको संक्रमण भएका वेला पनि स्वास्थ्य जोखिम हुने नै गर्दछ । डेंगी रोगका गम्भीर बिरामीलाई आन्तरिक रक्तस्रावको समस्या हुने गर्दछ । रगत जम्ने प्रक्रियामा नै समस्या हुन्छ । 

रक्तस्राव आफैमा पनि जोखिम हो । चाहे त्यो महिनावारी भएको बेला होस् वा अन्य कुनै कारणले होस् । महिनावारीको वेलामा हुने रक्तस्रावलाई पनि अन्य रक्तस्रावकै रूपमा हेर्नुपर्ने हुन्छ । यसबाट यति भन्न सकिन्छ की डेंगी सङ्क्रमणबाट कमजोर भएका महिलामा महिनावारीका कारण रक्तस्राव बढी भयो भने स्वास्थ्यमा समस्या निम्तन सक्छ । तर, अहिलेसम्म यसबारे पुष्टि भने भइसकेको छैन ।

डेंगी संक्रमणका वेला महिनावारी भयो भेन महिलाहरूले सावधानी अपनाउने र चिकित्सकसँगको निगरानी रहने र परामर्श गर्ने गर्नु पर्छ ।

तपाईँको सुझाव के रहन्छ ?

डेंगी संक्रमित केही महिलाहरूमा महिनावारी अनियमित भएको विषय गत वर्ष पनि उपचारका क्रममा महिलाहरूले बताउने गर्नु भएको थियो । डेंगी संक्रमणका वेला समय भन्दा अगाडी महिनावारी भयो वा महिनावारीको समयमा बढी रक्तस्राव भयो भने चिकित्सकको परामर्श र सल्लाह लिनु पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस