टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर


९ कार्तिक २०८०, बिहिबार


धादिङ । धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालीलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू-बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका-६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।

पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल भए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिइनन्। प्रसव पीडामा छटपटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुई वटा मन्दिर छ ।

नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । राम शाहले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताए । 

पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।

‘मन्दिरमा पूजासहित बडादशैँ र चैते दशैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । बडादशैँको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ,’ श्रेष्ठ भन्छन्, ‘मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । गाडीबाट मात्र नभई हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनः निर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनः निर्माणका लागि शिलान्यास गरिएको हो ।  १३ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम शुरु गरिएको छ । हालसम्म मन्दिरमा चार करोड रुपैयाँ बराबरको पुनः निर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए।

मन्दिरमा खानेपानी तथा शौचालयको पनि राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किमीको दुरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो ।

Tags :
प्रतिक्रिया दिनुहोस