पर्यटकीय क्षेत्र बन्दै रानीपोखरी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटकीय क्षेत्र बन्दै रानीपोखरी


९ कार्तिक २०८०, बिहिबार


चितवन । भरतपुर महानगरपालिका-१९  स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । 

प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ । सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रूपमा अघि बढाइएको छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउँदै छ । महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ । रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीकोबिचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन् । योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ । 

स्थानीय वीरबहादुर नेपालीले भने, “निर्माणकार्य सम्पन्न हुन नसक्दा यसको सरसफाइ र रेखदेखमा समस्या भए जस्तो देखिए पनि निर्माण सम्पन्न हुँदा यो आकर्षक बन्ने छ ।” यस तालमा डुङ्गा चढ्ने, बालबालिकाका लागि नजिकै रहेको उद्यानको रमणीय वातावरणमा भुल्ने हुँदा पर्यटक आउने गर्दछन् । 

तालमा रहेको जलकुम्भीसहितका मिचाहा झार हटाएर यसलाई आकर्षक बनाउन लागिएको उनले बताए । अहिले पनि दैनिक यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका उहाँले बताउनुभयो ।

रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बन्ने बताउनुभयो । उजले भजे “अहिले ताललाई आकर्षक बनाउन लागिएको छ ।”

उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उनले भ्रमण वर्ष अघि नै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए । उनका अनुसार मन्दिर निर्माण, तालको आकर्षणका रूपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माणकार्य भइरहेको छ । उनले भने, “निर्माण सम्पन्न हुँदा पर्यटकका लागि रमणीय र मनमोहक स्थलको रूपमा यसलाई विकास गर्न लागिएको छ । भ्रमण वर्षमा यहाँको काम सम्पन्न हुन सके आएका पर्यटकलाई केही समय भए पनि रमणीय स्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन भनेका छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस