राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व सेनाले गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको सुरक्षा नेतृत्व सेनाले गर्ने


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा दशैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई राजकीय भ्रमण बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गरिने सैनिक उच्च स्रोतले जानकारी दिएको छ । 

नेपाली सेनाको नेतृत्वमा महासचिव गुटेरेसलाई सुरक्षा दिन सेनाले सबै सुरक्षा निकायसँग समन्वय गरिराखेको छ । महासचिव गुटेरेस १२-१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । 

महासचिव गुटेरेसको भ्रमणको क्रममा अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । 

उनले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ । जसका लागि कात्तिक १२ मै संसद बैठक राखिएको छ । 

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधि सभाको बैठक १२ कात्तिकमा आह्वान गरिसकेको र संसद्ले इजरेल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत रहेको छ । 

उनको भ्रमणको बेला दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । महामहिम गुटेरेसले १४ कात्तिकको अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ । 

संसद सचिवालयले आवश्यक तयारी गर्दै छ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ । 

संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस