काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ महाधिवेशनमा अध्यक्ष पदका उमेदवारहरुले आफूलाई आफै अध्यक्ष घोषित गरी शपथ लिने काम अवैध भएको जनाएका छन् ।
अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा आर के शर्माले सङ्घका निवर्तमान अध्यक्ष बद्री केसीले यस्तो बताएका हुन् ।
शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीनजना अध्यक्षहरुबीच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाएका हुन् ।
निर्वाचनमा भएका अनियमितताको छानबिन गर्न प्राविधिक विज्ञ रहेको तीन सदस्यीय छानबिन समिति गठन गर्न शुक्रबार भएको सहमतिको मसी सुक्न नपाउँदै आफै उम्मेदवार रहेका निवर्तमान अध्यक्ष केसीले शनिबार हतार हतारमा शपथ लिएको उनले बताए ।
त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरोले गराएको मतदान प्रक्रियाबारे गम्भीर आशङ्काहरू उत्पन्न भएपछि आफूहरूले छानबिन गर्न माग गरेको तर निर्वाचन समितिका एक सदस्यले विवादको टुङ्गो नलाग्दै एकपक्षीय रूपमा केसी र उनीपक्षीय उम्मेदवारलाई शपथ दिलाएको बताए ।
छानबिन समिति गठन गरेर निर्वाचनका क्रममा भएका सबै अनियमितताहरूको छानबिन गर्न उनले माग पनि गरे ।







