बझाङमा भूकम्पपछि दुई सातामा ६०१ पराकम्प, १२ हजार घरमा क्षति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बझाङमा भूकम्पपछि दुई सातामा ६०१ पराकम्प, १२ हजार घरमा क्षति


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । गत असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा ६ सय १ पराकम्प गएका छन् । पछिल्लो पटक बुधबार राति बझाङ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

असोज १६ गतेपछि सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्र बनाएर ६ सय १ पटक परकम्प गइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्र प्रमुख बलबहादुर तामाङका अनुसार यीमध्ये चारदेखि पाँच म्याग्निच्यूडसम्मका धक्का २९ पटक र पाँच भन्दा बढीको पराकम्प सात पटक गइसकेको छ ।

असोज १६ को भूकम्पले जिल्लाभर १२ हजार घरमा क्षति पुगेको छ । तीमध्ये ८ हजार ५ सय २९ घर बस्न नमिल्ने गरी क्षति भएका छन् भने ३ हजार ५२४ घरमा सामान्य क्षति भएको छ । भूकम्पले विद्यालय, स्वास्थ्य चौकीलगायत १ सय २३ सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ५२ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पका कारण मन्दिर, सामुदायिक भवनलगायत अन्य ५० वटा सार्वजनिक संरचनामा पनि क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । भूकम्पका कारण क्षति भएका १२ हजार ५३ घरमध्ये २ हजार ४ सय ४५ पूर्णरुपमा ध्वस्त भएका छन् ।

असोज १६ गते सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६.३ म्याग्निच्युडको भूकम्प र त्यसपछि लगातार गइरहेका पराकम्पका कारण सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको छ । थलारामामात्रै १ हजार ७२ घर बस्न नमिल्ने गरी क्षति भएको गाउँपालिकाले जनाएको छ ।

भूकम्पका कारण जयपृथ्वी र बुंगल नगरपालिका, मष्टा, छबिसपाथीभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा पनि ठूलो भौतिक क्षति भएको छ । यी पालिकाका पाँच हजार बढी घर बस्न नमिल्ने गरी क्षति भएको विपद् व्यवस्थापन समितिको तथ्याङ्क छ ।

लगातार गैरहको परकम्पका कारण स्थानीय अहिले पनि घरभित्र बस्न सकिरहेका छैनन् । अधिकांश घर चर्किएका र लगातार भूकम्पको धक्का आइरहेको कारण घरभित्र बस्न जोखिम ठानेर पालमै बसेको स्थानीयले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस