प्यालेस्टाइनी पनि हमासको शिकार भए, बेलायत सधैँ इजरायलको साथमा : बेलायती प्रधानमन्त्री « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्यालेस्टाइनी पनि हमासको शिकार भए, बेलायत सधैँ इजरायलको साथमा : बेलायती प्रधानमन्त्री


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ। हमास समूहसँग जारी युद्धमा इजरायललाई ऐक्यबद्धता जनाउन तेलअबिब पुगेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुसँग भेट गरेको दोस्रो दिन बेलातयी प्रधानमन्त्री सुनक पनि तेलअबिब पुगेका हुन् ।

भेटवार्तापछि प्रधानमन्त्री नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा सुनकले ७ अक्टोबरमा हमासले गरेको आक्रमण ‘वर्णन गर्नै नसकिने, डरलाग्दो आतङ्कवादी गतिविधि’ भएको र बेलायत सधैँ इजरायलको साथमा रहेको बताए ।

सुनकले गाजापट्टीको एउटा अस्पतालमा मङ्गलवार भएको आक्रमणबाट आफू स्तब्ध भएको भन्दै निर्दोष नागरिकले ज्यान गुमाएकोमा शोक व्यक्त गरे । सुनकले नेतान्याहुसँग प्यालेस्टाइनी नागरिक पनि हमासको शिकार भएको भन्दै गाजापट्टीमा सहायता दिने इजरायलको निर्णयको स्वागत गरे ।

उनले यस्तो कहालीलाग्दो घडीमा आफू इजरायलको साथीको रूपमा उभिन पाउँदा गर्व महसुस गरिरहेको बताए । ‘हामी तपाईँ र तपाईँका जनताको साथमा उभिनेछौँ । हामी तपाईँको जित हेर्न चाहन्छौँ’, सुनकले पत्रकार सम्मेलनमा भनेका छन्, ‘हामी हमासविरुद्ध लड्ने तपाईँको अधिकारको रक्षा गर्न चाहन्छौँ ।’

उनले हिंसा र आतंकवादको चपेटामा बाँचेको इजरायललाई आफ्नो अस्तित्वको रक्षाका हरेक पल लड्नुपर्ने अवस्था रहेको बताए ।

‘बेलायतले अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो रक्षा गर्ने इजरायलको अधिकारका साथै हमास विरुद्ध लड्ने अधिकारलाई पूर्ण रूपमा समर्थन गर्दछ’, बेलायती प्रधानमन्त्री सुनकले भने । इजरायली प्रधानमन्त्री नेतान्याहुले समर्थनका लागि सुनकलाई धन्यवाद व्यक्त गर्दै दोस्रो विश्वयुद्धमा नाजीहरू विरुद्धको लडाइलाई स्मरण गरेका छन् ।

‘आजभन्दा ८० वर्षअघि बेलायतको दुःखको घडीमा सारा संसार तपाईँको साथमा थियो । यो समय हाम्रा लागि सबैभन्दा दुःखको समय हो । संसारको सबैभन्दा कहालीलाग्दो समय हो’, नेतान्याहुले सुनकलाई भने, ‘त्यसैले म तपाईँको समर्थनको सम्मान गर्दछु । हामीले सँगसँगै जित्नुपर्छ ।’

इजरायली प्रधानमन्त्री नेतान्याहुले यो लामो युद्ध भएकाले आफूलाई बेलायतको निरन्तर समर्थन चाहिने बताए । 

नेतान्याहुले यो इजरायलको मात्र नभई सभ्य र स्वतन्त्र विश्व र आधुनिक अरब राष्ट्रहरूको समेत लडाइ भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस