कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षीको दाबी, सुविधा माग « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशीमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षीको दाबी, सुविधा माग


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ। कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ ।

बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा निवेदन दिएका छन् । बुधबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपामात्र विपक्षमा उभिएको थियो ।

विपक्षमा मतदान गरेकै कारण आफूहरूले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग छ । नेता सिटौलाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्टरूपमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेकको बढी सदस्य भएको दलको नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफूहरूले दाबी गरेको बताए ।

मुख्यमन्त्री केदार कार्कीले बुधबार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत परेको थियो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस