यस्ता छन् रूपन्देही प्रहरीका चाडपर्व लक्षित सुरक्षा योजना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् रूपन्देही प्रहरीका चाडपर्व लक्षित सुरक्षा योजना


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै रुपन्देहीले प्रहरीले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ। अन्य चाडपर्वभन्दा दसैंतिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकको नेतृत्वमा बनाइएको सुरक्षा योजनामा सीमा क्षेत्रको सुरक्षा व्यवस्थादेखि बैंक–वित्तीय संस्था र सुनचाँदी पसलहरूको विशेष निगरानी तथा सडक सुरक्षा समेत रहेका छन्। जसको लागि जिल्लाभर एक हजार २९ जना प्रहरी परिचालन गरिएका छन्।

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा योजनाले चाडपर्वको बेला हुनसक्ने चोरी-तस्करी, लुटपाट, जबरजस्ती चन्दा सङ्कलन, झैझगडा लगायतका अपराधिक घटनालाई निस्तेज पारिने प्रहरी उपरीक्षक विकले बताए। विकले सामान्य अवस्थामा भन्दा चाडपर्वलाई लक्षित गरी जिल्लाभर ४३ वटा पिकेट परिचालन गरिएको जानकारी दिए।

यस्तै, १८ वटा समूहमा २४ सैं घण्टा प्रहरीले पैदल गस्ती गर्नेछ भने ५० वटा मोटरसाइकलमा विभिन्न स्थानमा गस्ती सुरु गरिएको छ। सीमा क्षेत्रबाट हुनसक्ने चोरीतस्करी रोक्न २४ वटा युनिट परिचालन गरिएका छन्।

चाडपर्वको समयमा चोरी, लुटपाट, चन्दा सङ्कलन, झैँ-झगडा जस्ता आपराधिक घटनासँगै सडक दुर्घटनाका घटना पनि बढी हुने गर्छन्। त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झैँ–झगडा र दुर्घटनाका घटना समेत हुने गर्छन्। त्यस्ता घटना नहुन् भन्ने उद्देश्यले क्वीक रेस्पोन्स टिम र चेकिङका लागि १७ वटा गाडीमा मोबाइल गस्ती गरिने प्रहरी उपरीक्षक विकले बताए।

यात्रु तथा सवारी साधनका कारण व्यस्त रहने पूर्वपश्चिम महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा विशेष चेकिङको लागि १० वटा क्रस प्याट्रोलिङ राखिएका छन् भने चालकहरूलाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन रोक्ने गरी विभिन्न १९ स्थानमा ट्राफिक प्रहरी सहितको संयुक्त चेकिङ सुरु गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस