झुलाघाट नाका आंशिकरूपमा सञ्चालन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झुलाघाट नाका आंशिकरूपमा सञ्चालन 


२७ आश्विन २०८०, शनिबार


बैतडी । भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन। झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुने उनले बताए। प्रजिअ पन्थीका अनुसार पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ।

झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको प्रजिअ पन्थीले बताए।

तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने उनको भनाइ थियो। ‘भारतीय पक्षले उक्त पुल मर्मत काम गरिरहेको हो। पुलमा काठका नयाँ फल्याक राख्ने, खिया लागेको फलाम बदल्नेलगायत काम भइरहेका छन्,’ उनले भने।

झोलुङ्गे पुल मर्मतका विषयमा सीमा समन्वय बैठकमा सहमति भएको र सोहीअनुसार पुल मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सीमा नाका झुलाघाटमा करिब एक सय ५० वर्षअघि इष्टइण्डिया कम्पनीले निर्माण गरेको उक्त पुलबाट आवतजावत गर्ने गरिएको छ। यो पुल जीर्ण भएकाले बेलाबेलामा मर्मतसम्भार गर्ने गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस