सनाखतका लागि कोशी प्रदेश प्रमुखले बोलाए सांसद « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सनाखतका लागि कोशी प्रदेश प्रमुखले बोलाए सांसद


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो र नेपाली काँग्रेसका केदार कार्कीले दाबी पेश गरेका थिए। आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले)का सांसदले समर्थन जनाएका थिए।

दुवै जनाले बहुमत सांसदको नाम पेश गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाएका हुन्। असोज २७ गते बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २६ गते अपराह्न ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए। त्यसमा आङ्बो र कार्कीले ४७/४७ सांसदको हस्ताक्षर बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

दुवैले बराबरी हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्ने निर्णय गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पुर्‍याउने सांसदलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

अहिले एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस