कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कांग्रेस कोशी प्रदेश कार्यसमिति बैठक बस्दै


२६ आश्विन २०८०, शुक्रबार


विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशअन्तर्गत कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । कोशी प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पछिल्लो समय चर्किएको विवादका सन्दर्भमा बैठक बस्न लागेको हो ।

संस्थापन पक्षसहित गठबन्धन दलहरूले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोको नाममा सहमति गरेको तर कांग्रेसका तर्फबाट केदार कार्कीले पनि दाबी पेस गरेपछिको अवस्थालाई ध्यान दिँदै बैठक बस्न लागेको एक नेताले बताए ।

गठबन्धन दलहरूको सहमतिमा हिजो बिहीबार माओवादीका तर्फबाट आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

यसैगरी कांग्रेसका कार्कीले कांग्रेका ८ जना सभासद् र एमालेका सभासद्को समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस कार्यसम्पादन समिति बैठकको मुख्य एजेन्डा पार्टीबाट विद्रोह गरेर चालिएको कदममा विचार गरिने भएको नेताहरुले बताएका छन् ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेको थियो । उक्त सहमतिप्रति कांग्रेसको शेखर कोइराला पक्ष असन्तुष्ट बनेको थियो ।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्की कोइराला पक्षधर हुन् । उनलाई समर्थन गर्ने सभासदहरु पनि कोइराला पक्षसँग नजिक छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईका अनुसार कोशी सरकारको नेतृत्वका सम्बन्धमा पछिल्लो समय देखिएको असहज अवस्थालाई ध्यान दिँदै त्यसै विषयमा छलफल र आवश्यक निर्णय गर्न बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस