प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लन्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्णेल पौल स्मिथको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका थिए । भ्रमणको दौरान उनलाई उक्त कलेजमा उच्च पदाधिकारीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिबारे जानकारी गराइएको थियो ।

सोही अवसरमा प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भए । नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । प्रधानसेनापति शर्मा यही असोज २१ गतेदेखि बेलायतको भ्रमणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस