सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ


२२ आश्विन २०८०, सोमबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ ।

माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो ।

निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा यही असोज २५ गतेदेखि क्यामेरा ट्यापिङ गर्न लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइनेछ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्ग किलोमिटरको फरकमा जडान गरिनेछ ।

तीन ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गरिने उनले जानकारी दिए । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिनेछ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रीड निर्माण गरिनेछ । टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गर्न लागिएको हो ।

उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको तिवारीले जानकारी दिए ।

क्यामेरा ट्यापिङ्का लागि निकुञ्ज र तालका १५ जना कर्मचारी परिचालन गरिनेछ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागेको हो । वन पैदावार प्रयोगका क्रममा राखिएका क्यामेरामा क्षति पुग्नसक्ने भएकाले सामुदायिक वनका पदाधिकारी, उपभोक्तालाई जानकारी गराइएको उनले बताए ।

निकुञ्जले आज एक कार्यक्रमको आयोजना गरी बाघको अध्ययनका लागि क्यामेरा ट्यापिङ विधिबारे जानकारी गराएको हो । कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, ताल कार्यक्रमका वाइल्डलाइफ बायोलोजिक शशांक पौडेल लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस