राष्ट्रिय सभाका अध्यक्षद्वारा अष्ट्रेलिया सभामुखलाई नेपालबाट सीधा हवाई उडानको प्रस्ताव « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभाका अध्यक्षद्वारा अष्ट्रेलिया सभामुखलाई नेपालबाट सीधा हवाई उडानको प्रस्ताव


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । सिहंदरवारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए । नेपाल र अष्ट्रेलिया बिच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भए देखी नै नेपाल र अष्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे ।

भेटमा उनले भने, ‘नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य-मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक छ । दुवै देशको संसदमा मैत्री समूहहरूले दुई देशका संसद्हरूबिचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको छु ।’

अष्ट्रेलियाले नेपालको समाजिक-आर्थिक विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे। अष्ट्रेलियामा ६० हजार भन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र अष्ट्रेलियामा १ लाख २२ हजारभन्दा बढी नेपालीहरू बस्दै आएका कारण नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पनि दुवै देशबाट प्रयास गर्न आवश्यक रहेको बताए।

भेटमा अष्ट्रेलियाका सभामुख डिकले नेपालका प्रदेश सभाका सभामुख र उपसभामुख अष्ट्रेलियामा सङ्घीयताको अभ्यास र अनुभवको लागि अध्ययन भ्रमणमा आउन लागेकोमा खुसी व्यक्त गरे। अष्ट्रेलियाले सङ्घीयता कार्यान्वयनका क्रममा हाँसिल गरेको अनुभव नेपालका लागि पनि उपयुक्त हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस