प्रहरीले बुझायो सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान फाइल « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रहरीले बुझायो सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान फाइल


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ। प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको ठगीसम्बन्धी घटनामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीले बचतकर्ताले सङ्कलन गरेको रकम फिर्ता नगरेर १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्षसहित मंगलबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

सूर्यदर्शन सहकारीमा सर्वसाधारणको बचत रकम हिनामिना गरेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिएका छन् । सहकारीका साना ठूला १८ हजार ७ सय जना बचतकर्ता रहेको देखिए पनि १ हजार ३६ जनालेमात्र उजुरी दिएको र त्यसैको आधारमा ठगी भएको रकमको निकालिएको प्रहरीको भनाइ छ ।

सहकारीले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको पाइएको प्रहरीले जनाएको छ । कुन सञ्चालकले कति पैसा अपचलन गरेको भन्ने नै नखुलेकाले सबैलाई समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरीको आधारमा १ अर्ब ११ करोड १ लाख बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।

सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ जनालाई विपक्षी बनाउँदै ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्न सरकारी वकिललाई राय दिएको छ । सो ऐनमा सहकारी ठगी मुद्दामा १ अर्बमाथि जतिसुकै बिगो भए पनि ८ वर्ष भन्दा बढी कैद सजाय हुने व्यवस्था छ ।

पोखरा महानगरले गरेको विज्ञको विश्लेषणमा सहकारीको १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको भए पनि बचतकर्ताले दाबी गरेको रकम मात्र सञ्चालकले अपचलन गरेको आधारमा सोही बराबर १ अर्ब ११ करोड १ लाख रुपैयाँ बिगो माग्न राय दिएको प्रहरीको भनाइ छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरूलाई जाहेरी दिन आग्रह गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस