मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । दशैँलगायत चाडबाड नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा भाग लिने अधिकांश सदस्यहरूले चाडबाडका समयमा कृत्रिम अभाव सिर्जना गरी हुनसक्ने भन्दै त्यस्ता गतिविधिमा समयमै ध्यान पुर्‍याउन समितिमार्फत सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सदस्य गोकुलप्रसाद बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना हुँदै आएको जिकिर गर्दै दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा प्राप्त गर्ने जनताको अधिकारलाई सुनिश्चित गर्न जोड दिए।

सदस्य राजेन्द्रप्रसाद लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै त्यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् भनी अपिल गरे। सांसदद्वय अच्युत मैनाली र देवप्रसाद तिमिल्सिनाले आवश्यकता भन्दा लाभको दृष्टिकोणबाट मल आयात भएकाले वास्तविक किसानले नभई अरूले नै फाइदा लिइरहेको बताए।

समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजारी मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।

सांसद रामकृष्ण यादवले आर्थिक सङ्कट र  महँगीले अप्ठेरामा परेका जनतालाई अप्ठेरोमा पार्ने हिसाबले केही सीमित व्यापारीले कार्टेलिङ गरी छोटो समयमा धेरै धन कमाउने उद्देश्यले गलत क्रियाकलातर्फ लागेको भन्दै कारबाहीको माग गरे।

समिति सदस्य तारा लामाले चाडबाडका समयमा अत्यावश्यक खाद्य सामग्री चामल र दालबाहेक चिनीको प्रयोग र खपत कम गर्न जनतालाई आह्वान गर्न आवश्यक रहेको धारणा राखे।

सांसद लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सभापतिमार्फत बैठकलाई अनुरोध गरे।

समिति सदस्य योगेश भट्टराईले सरकार गठनका समयमा दलहरुबीच राष्ट्रको ढुकुटीको अवस्थालाई विश्लेषण गर्दै नयाँ सवारी साधन नकिन्ने र अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्ने भने पनि त्यसको ठाडो उल्लङ्घन भएको भनी आलोचना गरे।

समिति सदस्य श्यामकुमार घिमिरेले अधिकांश सार्वजनिक संस्थानको आर्थिक अवस्था कमजोर रहेकाले अनुदान दिएर कतिन्जेल धान्ने भनी प्रश्न गर्दै बढिरहेको महँगी र कालोबजारीको मारमा उपभोक्ता परेकाले त्यसमा सरकारले अनुगमन संयन्त्रलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको बताए।

सांसद मनिष झाले समितिमा हुने छलफल सामाजिक सञ्जालबाट प्रसारण गर्न तथा बाहिरबाट सस्तो मूल्यमा चिनी ल्याएर यहीँको उत्पादनको स्टिकरलगाउने कार्य रोक्न सरकारको ध्यानाकर्षण गराए।

सभापति ऋषिकेश पोखरेलले समितिले बेरुजु फर्यौटलगायत छलफलका लागि तयार गरेको  विषयबस्तुबारे जानकारी गराउँदै त्यसको प्राथमिकीकरणका लागि सुझाव प्रस्तुत गर्न अनुरोध गरे।

समिति सदस्य अमनलाल मोदीले समितिले दिने निर्णय कार्यान्वयन र परिपालनाको अवस्था र स्थितिबारे जानकारी माग गर्न आवश्यक रहेको बताए। सांसद सञ्जयकुमार गौतमले ठूलो होइन, ठोस  कुरा गर्न तथा नीतिगत भ्रष्टाचार रोक्न सरकारलाई खबरदारी गर्न आवश्यक रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस