यूएनको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट चीनतर्फ लागे प्रधानमन्त्री दाहाल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यूएनको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट चीनतर्फ लागे प्रधानमन्त्री दाहाल 


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को ७८ औँ महासभालाई बिहीबार सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’राति नै  न्युयोर्कबाट चीन भ्रमणमा निस्केका छन् । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री दाहाल ८ दिने चीन भ्रमणमा निस्केका हुन् ।

दाहाल चीनको हाङझाउमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने र त्यसपछि द्विपक्षीय भेटवार्ता गर्नको लागि त्यसतर्फ गएका हुन् । न्युयोर्कबाट दाहालको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्रमन्त्रालयका अधिकारी त्यसतर्फ गएका छन् । चीनमा सहभागी हुने अन्य टोली नेपालबाटै त्यसतर्फ लागिसकेको छ ।

प्रधानमन्त्री दाहालले ५ दिन न्युयोर्कमा रहँदा संयुक्त राष्ट्र सङ्घको दिगो विकासका लक्ष्यहरू (एसडीजी) को कार्यक्रममा सहभागी भए भने अल्पविकसित मुलुकहरूको अध्यक्षको हैसियतमा विभिन्न जलवायु, स्वास्थ्य, एलडीजी र अन्य कार्यक्रममा सहभागिता जनाएका थिए । उनले न्युयोर्कमा यूएनका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्नुका साथै अन्य द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त रहे । दाहालले न्युयोर्कमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गरे । दाहाल सन् २००८ पहिलो पटक प्रधानमन्त्री हुँदा महासभामा सम्बोधन गर्न आएका थिए ।

न्युयोर्कमा यूएनको ७८ औँ महासभामा भाग लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग मंगलबार राति भेटेको हो । उनीहरूले बाइडेनले महासभामा आएका राष्ट्र र सरकार प्रमुखहरूलाई दिएको रात्रिभोजका दौरान संयुक्त फोटो खिचाएका थिए । उक्त फोटो बाइडेनको सचिवालयले बिहीबार नेपाली पक्षलाई उपलब्ध गराएको हो । फोटोमा बाइडेन र जिल ज्याकोब तथा प्रधानमन्त्री दाहाल र छोरी गङ्गा दाहाल देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस