काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुले आफ्नो धारणा राखेका छन्। बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत भएका हुन्।
पहिलो दिनको बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक आगामी मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव पेश भएको जानकारी दिए।
उनले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेको पनि नेता विश्वकर्माले बताए।
‘‘नीति महाधिवेशनको समेत काम गर्ने गरी महासमितिको बैठक मंसिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव आएको छ। साथै अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्नुभयो,’ उनले भने।
उनले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेको बताए। बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ।







