वित्तीय अपराध सम्बोधन गर्न वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ : महानिरीक्षक कुँवर « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

वित्तीय अपराध सम्बोधन गर्न वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ : महानिरीक्षक कुँवर


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका हुन्।

उनले सीमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताए। त्यस्तै, प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यावसायिक ढङ्गले काम गरिरहेको उल्लेख गरे।

उनले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पारे। महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताए। प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरूले पनि अवसर पाएको उनको भनाइ छ।

महानिरीक्षक कुँवरले प्रहरीसमक्ष आर्थिक क्षेत्रका उजुरीहरू पनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताए।  उनले वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्ने बताए। त्यसको निम्ति राज्य गम्भीर हुनुपर्ने उनले बताए।

उनले भने, ‘अहिले सबभन्दा बढी इस्यु भनेको आर्थिक क्षेत्रको इस्यु छ। वित्तीय समस्यासँग, सहकारीसँग र यसैसँग जोडिएका समस्याहरू छन्। करिब २५ प्रतिशत मुद्दाहरूले गर्दा हामीलाई समस्या आएको छ। हामीले भनिरहेका छौँ– यसको लागि छुट्टै किसिमको वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छ भनेर पहल सुरु गरेका छौँ। यसका लागि राज्य गम्भीर बन्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस