भिआइपीलाई मापदण्ड विपरीत दिएको सुरक्षा अधिकृतसहितका सुविधा फिर्ता गर्न निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भिआइपीलाई मापदण्ड विपरीत दिएको सुरक्षा अधिकृतसहितका सुविधा फिर्ता गर्न निर्देशन


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले भिभिआइपी र भिआइपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति रामहरि खतिवडाले निर्देशन दिँदै भने, ‘नियम अनुसार भिभिआइपी र भिआइपीहरूलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू कुल कति छन् रु र मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।’

समितिले विशिष्ट व्यक्तिहरुकामा मापदण्ड विपरीत रहेका सुरक्षाकर्मी, चालक र भान्सेलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि आग्रह गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरूले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरू प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकामा कार्यान्वयन प्रभावकारी नभएको भन्दै सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस