‘खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन’ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

‘खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर तीजलाई विकृत बनाउन हुँदैन’


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन् । 

आज शुक्रवार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको उल्लेख गर्दै महिला कर्मचारीलाई तीजको शुभकामनासमेत दिए । तीज एक सामाजिक-सांस्कृतिक पर्व भइसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्नेमा उनले जोड दिए ।

खानपिन तथा लवाइखवाइको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने बताउँदै उनले भने, ‘उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।’

निरङ्कुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे । उनले शरीरसँगै मन पनि नाच्नुपर्ने र योग ध्यानलाई पनि नियमित गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस