पोसाकको दुरुपयोग बढेको भन्दै पूर्वस्वीकृति नलिए कारबाही गर्ने प्रहरीको चेतावनी  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पोसाकको दुरुपयोग बढेको भन्दै पूर्वस्वीकृति नलिए कारबाही गर्ने प्रहरीको चेतावनी 


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेको भन्दै पूर्वस्वीकृति नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।   

केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको हो ।  

प्रहरीको पोसाकमा साङ्गठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । 

पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्टअनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह गरिएको छ । 

प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरीले आग्रह गरेको छ  ।

अन्यथा कानुनबमोजिम कारबाही हुने हुने प्रहरी नायव महानिरीक्षक प्रवक्ता कुवेर कडायतले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस