डोटीमा पनि भव्यताका साथ मनाइयो निजामती सेवा दिवस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डोटीमा पनि भव्यताका साथ मनाइयो निजामती सेवा दिवस


२२ भाद्र २०८०, शुक्रबार


डोटी । डोटी जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी २० औँ निजामती सेवा दिवस मनाएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवस मनाइएको हो ।

निजामती सेवा सरकार र जनतालाई जोड्ने सबै भन्दा महत्त्वपूर्ण कडी रहेको निजामती सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । 

उनले भने, ‘नागरिकलाई सेवा दिएर मात्र पुग्दैन उनीहरूको भरोसा र विश्वास पनि जित्नुपर्छ, निजामती सेवालाई व्यावसायिक सृजनशील बनाउनु पर्छ ।’ व्यावसायिक बन्नको निम्ति ज्ञान, सिप, प्रविधिको ज्ञान हुनुका साथै सेवाभावको भावना हुन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए।

दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले निजामती कर्मचारीहरूले गुणस्तरीय सर्वसुलभ, छिटो छरितो सेवा प्रवाह गर्नमा तल्लीन हुनुपर्ने बताए । उनले भने, ‘हामीले राष्ट्र सेवक कर्मचारीहरूको सम्मान गर्नुपर्छ कर्मचारीहरू पनि सेवा प्रवाहमा जिम्मेवार बन्नुपर्छ ।’ राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्ड जरिमानाको व्यवस्था आवश्यकता रहेको समेत प्रमुख सिंहले बताए ।  

दिवसको अवसरमा कर्मचारीहरूले शैलेश्वरी मन्दिर, बजार, जिल्ला अस्पताल हुँदै जिल्ला प्रशासन सम्म प्रभात फेरी गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको दिवस समारोह समितिले जनाएको छ । दिवसको अवसरमा दिवस समारोह समितिले जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै जिल्लाका विभिन्न कार्यालयमा कार्यरत अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान सहित बिदाइ समेत गरेको थियो । 

निजामती सेवा दिवस २०८० जिल्ला समारोह समिति डोटीले आयोजना गरेको दिवस समारोह कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस