पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै


२२ भाद्र २०८०, शुक्रबार


कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ तीन विभागीयसहित पाँच टोली र पुरुषतर्फ दुई विभागीयसहित पाँच टोलीको सहभागिता निश्चित भएको नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, काठमाडौँको न्यू डायमण्ड एकेडेमी र बुटवलको न्यू एभरेष्ट भलिबल क्लब सहभागिता हुनेछन् । यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द क्लब बुटवल र बागलुङको गलकोट स्पोट्र्स क्लब सहभागी हुने भएको अध्यक्ष भण्डारीले बताए ।

राष्ट्रिय भलिबल प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेतालाई रु एक लाख ५० हजार एक सय ११ का दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । दोस्रो हुने टिमलाई जनही एक लाख एक हजार एक सय ११ र तृतीय हुने टोलीले रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तीज महोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितासहित सितोरियो कराते प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूह तीज गीत प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमलगायत हुनेछन् । समाजले भलिबल प्रतियोगिताका माध्यमबाट खेलकुदको विकासका साथै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको समाजका पूर्वअध्यक्ष बुद्धिबहादर खत्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस