‘कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गछौं’ « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

‘कागबेनी बस्ती व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गछौं’


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । मुस्ताङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरीक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पुर्‍याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्त्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुनर्निर्माणमा लाग्ने बताए ।

उनले भने, ‘तत्कालै गर्नुपर्ने केही कामहरू र कागबेनी बस्तीको पुनर्निर्माणको कामलाई मुख्य योजनामा पार्ने छौ । त्यसको निम्ति संघ,प्रदेश र स्थानीय तीनै तहका सरकारका संयन्त्रसँग समन्वयात्मक ढंगले काम अगाडि बढाइने छ । त्यसमा हामी गम्भीर रूपमा लाग्ने छौ ।’

मुस्ताङ धार्मिक र पर्यटनको हिसाबले महत्त्वपूर्ण क्षेत्र भएको बताएका श्रेष्ठले त्यहाँको भौतिक संरचनाको पुनर्निर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने जिकिर गरेका छन् ।

‘यो ऐतिहासिक बस्ती कागबेनी तीर्थस्थल र यो पर्यटनको केन्द्रलाई हिजो जुन स्थिति थियो त्यो भन्दा व्यवस्थित, त्यो भन्दा उन्नत ढंगले पुनर्स्थापित र पुनर्निर्माणको दिशातिर लैजाने कुरामा गम्भीरतापूर्वक आवश्यक कदम चाल्न पहल कदमी लिनेछौं,’ गृहमन्त्रीले भने ।

गत साउन २८ गते गेगरसहित गएको बाढीका कारण त्यहाँ ठुलो क्षति भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस