सामुदायिक विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामुदायिक विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन


१८ भाद्र २०८०, सोमबार


चितवन । जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो ।

शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयमा अहिले सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्न नसकेको बताए । उनले भने, ‘सुरुआती समयमा आकर्षण देखिए पनि अहिले त्यो आकर्षण कायम रहन सकेको छैन ।’

विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरु गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उनले बताए । उनका अनुसार पहिलो वर्ष तोकिएको कोटा ४८ जनानै भर्ना भएका थिए । त्यसपछिका वर्षहरूमा क्रमशः सङ्ख्या घट्दै आएर यस वर्ष ३२ जना मात्रै भर्ना भएको उनले बताए। कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरूले कक्षा १२ उत्तीर्ण गर्दै गर्दा सवइन्जिनियर हुन्छन् ।

प्राविधिकतर्फ विसं २०७४ बाट कृषि शिक्षा अध्ययन गराउँदै आएको भरतपुर महानगरपालिका–२० को भीमनगर माध्यमिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण कम भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार एसइईसम्म विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरे पनि पछि धार परिवर्तन गर्ने गरेको बताउछन् । कक्षा ९ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या अनुपातमा कक्षा १२ सम्ममा पुग्दा आधाआधी मात्रै रहने गरेको उनको भनाइ छ ।

कक्षा ९ मा कोटाअनुसार भर्ना भए पनि कक्षा १२ सम्म पुग्दा आठ जना मात्र भएको उनले जानकारी दिए । उनका अनुसार अहिले कक्षा ९ मा ४५ जना भर्ना भएका छन् भने कक्षा १० मा ३४ , कक्षा ११ मा १५ र कक्षा १२ मा आठ जना भर्ना भएका छन् । सुरुआती वर्ष १५ विद्यार्थी भर्ना भएका थिए । उनले भने, ‘विद्यार्थीले एसइईमा राम्रो ग्रेड ल्याउनका लागि कृषि पढ्ने र पछि गएर विज्ञान पढ्ने भन्दै धार परिवर्तन गर्ने गरेका छन् ।’ समुदायस्तरमा प्राविधिक शिक्षाको ज्ञान पुर्‍याउन नसक्दा यस्तो समस्या आएको उनले बताए ।

माडी माध्यमिक विद्यालय माडीमा अहिले पशु विज्ञानअन्तर्गतको प्राविधिक शिक्षा अध्ययन भइरहेको छ । जहाँ पहिलेको तुलनामा अहिले विद्यार्थीको सङ्ख्यात्मक चाप नभएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्रप्रसाद पौडेलका अनुसार सुरुआती समयमा जस्तो चाप नभए पनि विद्यार्थीका आकर्षण बिस्तारै घट्न थालेको छ । विसं २०७३ बाट अध्ययन सुरु गरेको यस विद्यालय सुरुआती दुई वर्ष कोटाअनुसारको विद्यार्थी भर्ना भएको भए पनि पछिल्ला वर्ष घट्दै गएर अहिले २९ विद्यार्थी भर्ना भएको उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार नेपाल मावि रत्ननगरमा वाली विज्ञान, बुद्धशान्ति मावि राप्तीमा पशु विज्ञान, त्रिवेणी बराह मावि इच्छाकामना गाउँपालिकामा कम्प्युटर इन्जिनियरिङ शिक्षा अध्यापन भइरहेको छ । एकाइका प्रमुख भूमिलाल सुवेदीले कक्षा १० सम्म पढ्ने विद्यार्थी भए पनि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सङ्ख्या न्यून रहेको बताए । कोटाअनुसार विद्यार्थी भर्नामा केही विद्यालयमा प्रवेश परीक्षासमेत लिने गरेको भए पनि सबै विद्यार्थी कक्षा १२ सम्म नपुग्ने गरेको उनको भनाइ छ । शिक्षा विभागबाट चितवनमा पहिलो पटक विसं २०६९ मा प्राविधिक शिक्षा कक्षा ९ देखि लागू गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस