भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै, सतर्कता अपनाउन आग्रह


१७ भाद्र २०८०, आइतबार


बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध भोलि सोमबार बिहान ८ बजेदेखि मङ्गलबार बेलुकी ८ बजेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षात्को बेला हरेक वर्ष खोलिने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।

विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा १०० भन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस