बडिमालिकामा सेनाको शिविरमा एक हजार आठ सयभन्दा बढीलाई सेवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बडिमालिकामा सेनाको शिविरमा एक हजार आठ सयभन्दा बढीलाई सेवा


१६ भाद्र २०८०, शनिबार


बाजुरा । धार्मिक तथा पर्यटकीय बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने  मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाको उपचार भएको छ । 

चार हजार दुई सय १२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पाँच सय ४५ पुरुष र तीन सय २१ महिला गरी आठ सय ६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनले दिएको जानकारीअनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरेको बताए । 

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभञ्जन गुल्मको संयोजकत्व तथा श्री नं ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृतसहितको मेडिकल टिमले आठ सय ६६ जनाको उपचार र नौ सय ५५ जनालाई उपचार परामर्श सेवासहित एक हजार आठ सय  २१ जनालाई उपचार गरेको सेनानी सिंहले बताएका छन् । 

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुनसक्ने जोखिम र समस्यालाई निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ ।

छ जनाको उद्धार

धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका लागि गएका लेक लागेर र अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएका छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाएको छ । 

भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिकाको पूजाका लागि दर्शन गर्न गएका दर्शनार्थी छ जनालाई अक्सिजन अभावका कारण त्रिवेणीधाममा लडेर अचेत अवस्थामा रहेकालाई सेनाको हेलिकोप्टरमार्फत उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताएका छन् । 

सेनाको हेलिकोप्टरमा कालीकोट पलाता गाउँपालिका-१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिका-९ बस्ने  ६५ झुपुदेवी धामी, त्रिवेणी नगरपालिका-१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ का ईश्वरी बोहरा र ५२ वर्षीया गङ्गादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका-२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको बताए । 

उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फर्काइएको छ । उद्धार गरिएका पाँच जनालाई लेक लागेर अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत अवस्थामा फेला पारेपछि त्रिवेणीमा सञ्चालन गरिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा थप उपचारका लागि पठाइएको थियो । जुम्लाकी विनुदेवी बस्नेतको बडीमालिकाबाट घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर दायाँ खुट्टा भाँचिएपछि उद्धार गरिएको सेनानी सिंहको भनाइ रहेको छ । 

दुईको मृत्यु 

बडीमालिकामा लेक लागेर सिकिस्त बिरामी भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट जिल्ला पलाता गाउँपालिका-१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने हुन् । उनलाई त्रिवेणी धाममा लडेर घाइते भएर अचेत अवस्थामा रहेका बेला सेनाको फेला पारेपछि प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यस्तै अक्सिजन अभावका कारण त्रिवेणीमा लडेर अचेत अवस्थामा रहेका त्रिवेणी नगरपालिका-१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । बुढालाई नेपाली सेना बाजुराले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको दुर्गा भञ्जन गुल्मका सेनानी सिंह बताउछन् । 

मृत्युपछि बुढाको शवलाई नेपाली सेनाको एनए ०६१ को हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा परीक्षण गरेर शव आफन्तलाई बुझाइएको हो । बडीमालिकामा नेपाली सेनाको मेडिकल क्याम्पले प्राथमिक उपचारसँगै उद्धार गरेर चार जनाको ज्यान बचाउन सफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस