संसदीय समितिको काम प्रभावकारी बनाउन सभापतिहरूलाई सभामुखको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसदीय समितिको काम प्रभावकारी बनाउन सभापतिहरूलाई सभामुखको निर्देशन


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन् ।

बुधबार सभामुख, उपसभामुखसहित दसवटै संसदीय समितिका सभापतिहरूसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका हुन् ।

उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन ध्यानाकर्षण गराए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘निर्णयहरू अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरू अब समितिमार्फत पूरा गर्ने र समितिहरूलाई प्रभावकारी ढङ्गबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरू भयो ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सही ढङ्गले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको जानकारी दिए ।

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस