एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने प्रयास भइरहेको छ : ‘विप्लव’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने प्रयास भइरहेको छ : ‘विप्लव’


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाललाई उपनिवेश बनाउन अमेरिका एमसीसीको माध्यमबाट नेपाल आउन लागेको दाबी गरेका छन् । उनले अमेरिकीहरू गिद्धको रूपमा नेपाल छिर्ने प्रयासमा रहेको टिप्पणी गरेका छन् ।

मङ्गलवार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव चन्दले समाजवादी मोर्चाको उद्देश्य विदेशी साम्राज्यवादका विरुद्धमा लड्दै मुलुकलाई समाजवादतर्फ लैजाने र भ्रष्टाचारमुक्त नेपालको कल्पना भएको बताए ।

उनले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने षड्यन्त्र गरिरहेकाले त्यसविरुद्ध लड्ने घोषणा गरेका छन् । ‘भोलिका दिनमा यहाँ केही गिद्धहरू ओर्लँदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ,’ उनले भने, ‘५ अर्ब होइन ५० खर्ब पनि लिन्छौँ तर, उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गर्छौँ, लड्न पनि तयार छौँ ।’

उनले एमसीसी र बीआरआईले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने भन्दै त्यस्तो सहयोगमा सहकार्य गर्न पनि आफूहरू तयार रहेको बताए । ‘तर सहयोगका नाममा नेपालको स्रोत साधनको दोहन र अपहरण गर्न पाउँदैनन्,’ उनले बताए ।

यसैबीच अहिले देश बर्बाद भयो भनेर परिवर्तन विरोधी शक्तिले हौवा पिटे पनि देश बर्बाद नहुने नेता चन्दले चेतावनी दिएका थिए । परिवर्तन हुने बेलामा केही कठिनाइ देखिए पनि यसको सफल अवतरण हुने उनको भनाइ थियो । प्रधानमन्त्री र माओवादीलाई अपराधीको रूपमा चित्रण गरेर दलाल पुँजीपतिहरूले आफ्नो स्वार्थपूर्ति गर्न लागेको भन्दै उनले त्यस्तो स्वार्थ कदापि पूरा गर्न नदिने पनि बताएका थिए ।

चन्दले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोज्ने जोकोहीको लक्ष्य सफल हुन नदिने पनि बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस