एमालेमा कसैको गुट छैन, गलत प्रचार भयो : पद्मा अर्याल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमालेमा कसैको गुट छैन, गलत प्रचार भयो : पद्मा अर्याल


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र कुनै नेताको नाममा गुट नभएको दाबी गरेकी छन् ।

सोमबार रुपन्देहीमा सम्पादकहरूसँगको छलफलमा अर्यालले नेताहरू स्वयम्ले कुनै गुट नबनाएको तर केही व्यक्तिले त्यस प्रकारको हल्ला चलाएको आधारमा सञ्चारमाध्यमले त्यसलाई प्राथमिकता दिन आवश्यक नहुने बताएकी हुन् ।

‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, श्रद्धेय अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवार हुँदा २ जनाको गुट लेख्दा पछि धेरै उम्मेदवार भए कसको गुट लेख्ने नि ?’ अर्यालले भनिन् ।

उनले आफूले पनि गुट सिर्जना गर्न खोजको हल्ला सुनेको भन्दै त्यो ‘वाहियात’ भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र सङ्गठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दाबी गरिन् ।

सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा सङ्गठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस