गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा


१० भाद्र २०८०, आइतबार


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा-वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गरिएको उनले बताए । भिडियो एक्स-रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने उनले जानकारी दिए । एम्बुलेन्ससहितको स्वास्थ्यकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षण गर्न टोल-टोलमा पुग्ने गरेका हुन् ।

“गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको छ”, उनले भने, “त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइँदै आइएको छ ।”

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स-रे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘प्रोटेबल भिडियो एक्स-रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले वडा-वडामा पुगेर सेवा दिँदै आएको उनले बताए।

गाउँपालिकाले यो सेवा सुरु गर्नुअघि पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस