स्वीट्जरल्याण्डमा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वीट्जरल्याण्डमा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने


९ भाद्र २०८०, शनिबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औँ बैठकलाई आफ्नो विदेश भ्रमणका बारेमा जानकारी दिँदै मुख्यमन्त्री शर्माले प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन जुरिचमा जान थालिएको बताए । उनका अनुसार अन्तराष्ट्रिय मानवअधिकार आयोग अन्तरसरकारी संस्था स्वीट्जरल्याण्डको जुरिचमा वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रम सेप्टेम्बर १ र २ तारिखमा आयोजना हुँदैछ जहाँ कर्णाली प्रदेश सरकारको सहकार्य रहेको छ । 

“हाम्रो विपन्नता, अपुगता र समस्यालाई हाम्रो बलबुताबाट कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर छ”, उनले भने, “कर्णालीमा लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने गरी समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा जुरिचमा छलफल गरिनेछ ।” उक्त कार्यक्रममा भाग लिनका लागि साउन २३ गतेको सङ्घीय सरकारको निर्णयबमोजिम भ्रमणका स्वीकृत पनि भइसकेको उनले जनाए । 

बैठकमा प्रदेशसभा सदस्यले आकस्मिक समयमा उठाएका विषयको जवाफ दिँदै मुख्यमन्त्री शर्माले बाढी पहिरोजस्ता विपद्बाट हुम्लाको सर्केगाड, जुम्लाको पातारासी र सल्यानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरे । ठूलो रकम पठाउन नसके पनि जिल्ला प्रशासन कार्यालयमार्फत राहत प्रक्रिया अगाडि बढाइएको उनले भने । मध्य पहाडी क्षेत्रमा बाँदर र बँदेलजस्ता जङ्गली जनावरबाट बालीमा हुने क्षति कम गराउन लागिने जनाए ।  

सो बैठकबाट ‘कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक’ र कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ माथि दफावार छलफलका लागि समितिमा पठाइएको छ । दुवै विधेयक समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सभामा प्रस्ताव गरेबमोजिम सर्वसम्मतले पारित भएको थियो । सभाको अर्को बैठक भदौ २४ गते दिउँसो ३ बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस