रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध


७ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती-चपुर सडकखण्ड अवरुद्ध भएको छ।

चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिब ५५ वर्षीया विमलाकुमारी विमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग पनि अवरुद्ध गरेका हुन्।

पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उनी घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ।

उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पुर्‍याएको बताइएको छ।

दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन्।  चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पुर्‍याएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस