बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : रवि लामिछाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : रवि लामिछाने


६ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायबाट छानबिन निष्पक्ष हुनेमा शङ्का रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै विगतमा आयोगहरूले गरेको छानबिन कारबाही नभएको भन्दै लामिछानेले सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताएका हुन् ।

‘विगतमा छानबिन समितिको राम्रो उदाहरण छैन । यसपटक त्यस्तो नहोस् । समाजले राम्रोसँग बुझेको छ । तर शङ्काको सुविधा दिनुपर्ने हुन्छ । धितोपत्र बोर्डको विषयमा भएको अनुसन्धान बाहेक कारबाही भएको थाहा छैन, ’लामिछानेले भने, ‘यो अनुसन्धान नवयुवराजहरुमा आयो भने रोकिने त होइन ? ललिता निवास जग्गा प्रकरण जस्तो, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा जस्तो अड्किने त होइन ?’ लामिछानेले भनेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका नेताका छोराहरूलाई सोधपुछ नगरिएको विषयतर्फ लक्षित गर्दै सांसद लामिछानेले यस्तो कटाक्ष गरेका थिए ।

यस क्रममा उनले सुशासन कायम गर्नुपर्ने निकायलाई निकम्मा बनाइएको भन्दै गुनासो पनि गरे । ‘सुशासनको कुरा गर्दा हामीले राज्यका निकायहरूलाई कसरी निकम्मा बनाएका छौँ । गौंडागौंडमा आफ्नो मानिस भर्ना गरेका छौँ, ’लामिछानेले भने ।

यस्तै सांसद लामिछानेले बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘बुबा पुस्ताले लडेर ल्याएको व्यवस्थामा नवयुवराजहरुले के गरिरहेका छन् हामीले देखेका छौँ । फेरि नवयुवराजहरुमा अनुसन्धान पुग्दा प्रभावित नहोस् । बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानमा छोराछोरीहरुले गरेको यो नाच सर्वत्र देखिएको छ । निन्दनीय छ, ’उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस