कुखुराको अवैध आयात रोक्न सरकारको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कुखुराको अवैध आयात रोक्न सरकारको निर्देशन


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सरकारले कुखुराको अवैध आयात रोक्न निर्देशन दिएको छ । ‘भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासो’लाई सम्बोधन गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच वृहत् छलफल भएको थियो ।

उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मङ्गलवार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा देहाय बमोजिम गर्न गराउन पाँच बुँदे निर्णय जारी गरेका हुन् ।

गृह खुला सीमानाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कानूनी कारबाही गर्ने, सीमा नाकामा गस्ती निगरानी बढाउने, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोरहरूलाई हटाउने र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस