सदन अवरोध नगर्न राष्ट्रिय सभामा आवाज « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सदन अवरोध नगर्न राष्ट्रिय सभामा आवाज


५ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सदनको गतिरोध लामो समय राखिएकामा चिन्ता व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र जनतालाई सेवा दिने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

बैठकमा दलीय आधारमा समसामयिक विषयमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का सुरेश आलेमगरले सदनमा प्रतिपक्षले मात्रै अवरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताए । नेकपा (एमाले) का देवेन्द्र दाहालले एक भारतीय विवादित बाबालाई नेपालमा अनावश्यक सम्मान दिइएको र मन्त्रीहरू नै उनलाई भेट्न होटलमा लाइन लागेर गएको भन्दै विरोध व्यक्त गरे ।

नेपाली काँग्रेसका प्रकाश पन्थले प्रमुख प्रतिपक्ष दल सदनमा जिम्मेवारी रूपमा प्रस्तुत भई सरकारलाई जवाफदेही बनाउन पर्नेमा जोड दिए । एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) ले सुदूरपश्चिमको भीमदत्त राजमार्गको बुढीतोलामा सडक नराम्ररी भासिएकाले छिटो र प्रभावकारी पुनः निर्माण गर्न आग्रह गरे ।

एमालेका डा. विमला राई पौडेलले ‘कामना’ मासिक पत्रिकाले गाईजात्रा नामक अङ्कमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग महिलाको पाठेघरलाई जोडेर गरिएको व्यङ्ग्यप्रति आपत्ति जनाए । सांसद वामदेव गौतमले सदनलाई यसरी अवरोध गर्नै कुरा जनताको बहुदलीय जनवादको विचारसँग मेल नखाने टिप्पणी गरे । सांसद डा. खिमलाला देवकोटाले विपक्षीले अवरोध र सरकारले विजनेश नदिएर सदनलाई अर्थहीन बनाउने कोसिस गरिएको धारणा राखे ।

सांसदहरू शेखरकुमार सिंहले खडेरीमा बिउबिजन नष्ट भएर समस्या भोगेका किसानलाई राहत दिन माग गरे । सांसद तुलप्रसाद विश्वकर्माले विगतमा पनि सुन तस्करीको घटनामा उच्चस्तरीय आयोग गठन भए पनि परिणाम नआएकाले अहिले आयोग गठनको माग गर्नु सान्दर्भिक नहुने जिकिर गरे।

सभामा आज अन्य कुनै कारवाही भएन । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १० गते आइतबार दिउँसो १ः ०१ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस