सुदूरपश्चिममा गौरापर्व सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिममा गौरापर्व सुरु


४ भाद्र २०८०, सोमबार


बैतडी । सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा सुदूरपश्चिमेलीहरूको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ । 

पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिका रूपमा प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । 

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । बर्तालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरू गाएर सामूहिकरूपमा बिरुडा भिजाउने चलन रहिआएको छ ।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाडसमेत हो । यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडा पञ्चमीकै दिनदेखि बर्तालु महिलाहरूले गौराको पूजाआजा गर्ने गरेका बैतडीको दोगडाकेदार-३ श्रीकोट सुनखोलाका कमला जोशीले बताए । 

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुँडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रहिआएको छ ।

यो वर्ष ज्योतिषहरूबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व सुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व सुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषीहरूले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथिप्रति असन्तुष्टि जनाएका छन् । 

तर भदौ २१ गते अगस्ति उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिषी डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका हुन् ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहिआएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस