अंग्रेजी नामको हिज्जे मिलाउने कार्य अन्तिम चरणमा, यकिन गरेर पठाउन स्थानीय तहलाई परिपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अंग्रेजी नामको हिज्जे मिलाउने कार्य अन्तिम चरणमा, यकिन गरेर पठाउन स्थानीय तहलाई परिपत्र


३ भाद्र २०८०, आइतबार


काठमाडौँ। सरकारले सबै स्थानीय तहको अंग्रेजी नामको हिज्जे मिलाउने कार्यलाई अन्तिम तयारी अवस्थामा पुर्‍याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहले पठाएको अंग्रेजी नामको हिज्जेलाई अन्तिम रूप दिँदै राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको हो ।

यदि यस अघि स्थानीय तहले पठाएको अंग्रेजी नामको हिज्जे फरक परेको भए तीन दिन भित्र एकिन गरेर पठाउन सबै स्थानीय तहलाई परिपत्र पनि गरेको छ । अहिले मन्त्रालय, राहदानी विभाग र गृह मन्त्रालयको सहकार्यमा स्थानीय तहको अंग्रेजी नामको विवरण तयार पारेर सरकारले राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया अघि बढाइएको भन्दै स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा फरक परेको भए तीन दिन भित्र प्रमाणित गरी मन्त्रालयमा पठाउनका लागि अन्तिम पटक ताकेता गरेको हो ।

तोकिएको समयभित्र विवरण प्राप्त नभएमा अहिले मन्त्रालयले तयार पारेको विवरण अनुसार नै स्थानीय तहको अंग्रेजी नाम कायम राखेर जनपत्रमा प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्वजनिक निकायले स्थानीय तहको अंग्रेजी नाम लेख्दा नागरिकता प्रमाणपत्र तथा राहदानी प्रमाणपत्र लगायतका सरकारी कागजातमा फरक हिज्जे भएर नागरिकले बारम्बार समस्या झेल्न परेको अवस्था आएपछि अंग्रेजी हिज्जेमा एकरूपता कायम गर्नका लागि सूचना राजपत्रमा प्रकाशित गर्न लागेको हो ।

दुई महिना अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक साताभित्र सबै स्थानीय तहलाई अंग्रेजी नामको हिज्जे एकिन गरेर पठाउन परिपत्र गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस