दलित छोरी-बुहारीलाई उच्च शिक्षा पनि निःशुल्क पढाउने निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दलित छोरी-बुहारीलाई उच्च शिक्षा पनि निःशुल्क पढाउने निर्णय


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । सिन्धुलीको तीनपाटन गाउँपालिकाले दलित समुदायभित्रका छोरीबुहारीलाई निःशुल्क पढाउने कार्यक्रम ल्याएको छ। आइतबार सूचना जारी गर्दै गाउँपालिकाका शैक्षिक संस्थामा उच्च शिक्षा पनि निः शुल्क दिने निर्णय गरिएको जानकारी दिएको हो।

सरकारी–सामुदायिक क्याम्पसमा स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गरी रहेका र गर्न चाहने छोरी/बुहारीहरूलाई क्याम्पसमा लाग्ने भर्ना शुल्क पालिकाले व्यवस्था गरिदिने निर्णय छ।  ‘छोरी/बुहारीहरूलाई स्नातक बा सोभन्दा माथिल्लो तह अध्ययनका लागि क्याम्पसमा लाग्ने भर्ना शुल्क र शिक्षण शुल्क गाउँपालिकाबाट व्यहोर्ने गरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ,’ सूचनामा उल्लेख छ।

कार्यक्रमबाट लाभ लिनका लागि बुहारी भए सासू वा छोरी भए आमाले आफ्नी बुहारी/छोरीलाई स्नातक/स्नातकोत्तर तहको कुनैपनि वर्ष वा सेमेस्टरमा भर्ना गर्न स्वयंले क्याम्पसमा लैजानुपर्ने व्यवस्था गरिएको छ।

साथै महिला अभिभावक परिवारमा नभएमा एकाघर परिवारभित्रका अन्य महिला नातेदारले पनि छोरीबुहारीलाई क्याम्पस भर्ना गर्न लैजान सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

लाभ लिनको लागि पुर्‍याउनुपर्ने विधिबारे थप उल्लेख गर्दै सूचनामा भनिएको छ, ‘अभिभावक समेत नभएमा सम्बन्धित वडाको महिला बडा सदस्यले माथि उल्लेख भएको कार्यक्रमबाट लाभ पाउने छोरी वा बुहारीलाई स्नातक-स्नातोत्तर तह अध्ययनका लागि क्याम्पसमा भर्ना गर्न लैजानुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस