राष्ट्रपति र प्रधानमन्त्रीले टारे धीरेन्द्र शास्त्रीसँगको भेट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति र प्रधानमन्त्रीले टारे धीरेन्द्र शास्त्रीसँगको भेट


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा वाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ ।

चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौँ आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार बिहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री ‘प्रचण्ड’को व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए ।

शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेट गराउने प्रयास भएको थियो । तर राष्ट्रपति पौडेललाई सञ्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको शीतल निवास स्रोतले बताएको छ ।

२७ वर्षका धीरेन्द्रकृष्ण शास्त्री भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस