भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा


३० श्रावण २०८०, मंगलबार


काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेमा रहेको सिद्धेश्वर शिव पाञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचार-प्रसारको कमीले ओझेलमा परेको हो ।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए ।  सुन्दर स्थलमा रहेको यो देवस्थल प्रसार-प्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको  महत्वलाई देश-विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ । “यो शिवपञ्चायन मन्दिर प्रचारको कमीले ओझेलमा परेको छ”, उनले भने, “प्रसिद्ध टेम्केडाँडाको काखमा रहेको यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचार-प्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।”

चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताए । मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि यहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ । प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु, देवीको गरी पाञ्चायन भगवान्को मूर्ति छन् । धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानीयले बताएका छन् । “हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शिवपञ्चायन मन्दिरको स्थापना गरेका छौँ”, स्थानीय  शिक्षक नुरी शेर्पाले भने, “यहाँ हामी सबै जातजातिको बसोबास छ । हाम्रो शेर्पा समुदायको बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ । यसले हामीबीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ ।”

मन्दिर निर्माण तथा आवश्यक संरक्षणका लागि स्थानीय देवबहादुर विष्टले निःशुल्क जग्गा  दिनएको हो । “यो ठाउँमा मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि मैले जग्गादान गरेको छु” उनले भने, “यसले यहाँको संरक्षण तथा विकासमा टेवा पुगेको छ । मन्दिर निर्माणसँगै  धार्मिक पर्यटकको आवागमन बढ्छ भन्ने मैले विश्वास लिएको छु ।”

गाउँपालिका र वडा कार्यालयको रु. तीन  लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन् । गाउँपालिकाभित्रका  धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । यो ठाउँको  शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ-५ का वडाध्यक्ष सुनिल राईले बताए । मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ ।

“यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेका छौँ”, वडाध्यक्ष राईले भने, “धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर यहाँको आर्थिक पक्षमा जोड्ने हाम्रो लक्ष्य छ ।” धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस