स्वास्थ्य सेवा विभागद्वारा जनकपुर न्युरो हस्पिटलको अनुगमन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्य सेवा विभागद्वारा जनकपुर न्युरो हस्पिटलको अनुगमन


२९ श्रावण २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले जनकपुर न्युरो हस्पिटलमा अनुगमन गरेको छ । स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोली सोमबार अनुगमन गरेको हो ।

विभागबाट स्वीकृति लिएर मात्र अस्पताल सञ्चालन हुनुपर्नेमा कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालन गरिएको र उपचारमा लापरबाहीका कारण केही बिरामीको मृत्यु भएको समेत पाइएको छ । सोमबार बिहान ८ बजे हस्पिटलमा पुगेको टोली करिब ३ घण्टासम्म हस्पिटलमा रहेको थियो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका अनुसार यही हस्पिटलको विषयमा मेडिकल काउन्सिलको पनि चासो रहेकाले उसको पनि प्रतिनिधिसँगै आएर अनुगमन गरेको हो । यो हस्पिटलले विभागमा अनुमतिका लागि दिएको निवेदनको विषयमा पुनः अनुगमन समेत गरिएको छ ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार हस्पिटललाई तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टीकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न टोलीले निर्देशन दिएको छ ।

यसअघि आइतबार नै लापरबाहीले बिरामीको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरी घटनामा भएको अनुसन्धानको सम्पूर्ण जानकारी पठाउन निर्देशन दिएको थियो ।

डेढ वर्षदेखि जनकपुरको मुरलीचोकमा डा. विजय राउत र इन्जिनियर अजय राउतले सञ्चालन गरेका छन् । दर्ताको लागि सुरुमै स्वास्थ्य सेवा विभागमा निवेदन दिएको छ । हालसम्म दर्ताको लागि विभागले दुई/तीन पटक अनुगमन गरेपनि मापदण्ड पूरा गरेको छैन । जसको कारण सञ्चालन स्वीकृति प्रदान नगरेको स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखाले बताएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस