स्रोत जुटाउन नसक्ने ठूला जलविद्युत आयोजनाको पीपीए खारेज गर्न सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत जुटाउन नसक्ने ठूला जलविद्युत आयोजनाको पीपीए खारेज गर्न सिफारिस


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १ सय मेगावाट भन्दा माथिका सबै प्रारूपका जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ ।

विद्युत् खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस गरेको हो । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठन गरेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

सो प्रतिवेदनले १ सय मेगावाट भन्दा माथिका सबै आयोजनाको पीपीए सम्पन्न भएको तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसके नेपाल विद्युत् प्राधिकरणले पीपीए खारेज गर्न सक्ने सिफारिस गरेको हो ।

१ सय मेगावाट भन्दा कम क्षमताका सबै आयोजनाको हकमा भने २ वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसके पीपीए खारेज गर्न सिफारिस गरिएको छ । पीपीए खारेजसँगै आयोजनाको लागि राखिएको बैंक जमानत समेत जफत गर्न सिफारिस गरिएको छ ।

पीपीए खारेजीसँगै यस्ता आयोजनाको सर्वेक्षण/उत्पादन अनुमति पत्र समेत खारेज गर्न समितिले सिफारिस गरेको छ । समितिले नेपाल सरकार, नेपाल विदुत प्राधिकरणका सहायक कम्पनी र नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीद्धार प्रवर्द्धित जलविद्युत आयोजनाको पीपीएलाई प्राथमिकता दिन समेत सिफारिस गरेको छ ।

प्राधिकरणले अहिलेसम्म ७ हजार ७७५ मेगावाट विद्युत् आयोजनाका लागि खरिद बिक्री सम्झौता गरेको छ । जसमध्ये २ हजार २३ मेगावाट क्षमताका आयोजनाले व्यापारिक उत्पादन थालेका छन् । ३ हजार १०२ मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ भने २ हजार ६३२ मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस